काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाए।
प्रतिनिधिसभामा मंगलबार उनले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको आलोचना गरे।
ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी
दाहालले ट्रेड युनियनलाई लोकतन्त्रको मुख्य आत्मा रहेको उनको भनाइ छ। उनले भने‚ “आधुनिक लोकतन्त्रको मुख्य आत्मा नै ट्रेड युनियन हुन्। लामो संघर्षबाट प्राप्त अधिकार खोस्ने दिशामा अघि नबढौँ। लोकतन्त्रका संस्थाहरूलाई हामीले नष्ट गर्ने होइन, निर्माण गर्ने हो।”
उनले युवा सांसदहरूलाई ट्रेड युनियनलाई पेसागत संगठनका रूपमा सुदृढ बनाउने बहस गर्न पनि आग्रह गरे
प्रेस स्वतन्त्रतामाथि संकुचन
दाहालले अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनपछि बनेको सरकारले नै प्रेस स्वतन्त्रता संकुचन गर्नु बिडम्बनापूर्ण भएको बताए। उनले भने, “हिजो हामीले बोलेकै भरमा थुनिनुपर्ने परिस्थितिको विरोध गर्यौँ तर आज हामी मिडिया संस्थाहरुलाई नियमन गर्ने, कमजोर गर्ने अभ्यास गर्दै छौँ। प्रश्नहरुबाट भागेर होइन प्रश्नहरूको जवाफ दिएर मात्रै लोकतन्त्रको विकास हुन्छ।”
सरकारको स्वेच्छाचारिताको आलोचना
उनले सरकारलाई स्वेच्छाचारिता नगर्न चेतावनी पनि दिए। “संख्याको दम्भमा विधि मिच्ने काम नहोस्। आफैँले बोलाएको संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत जे जसरी शासन चलाउनु खोज्नुभयो, जसरी प्रतिशोधको गन्ध आउने गरी धरपकडहरु सुरु गर्नुभयो, सरकारको आलोचना गर्नेहरुलाई थुन्ने काम गर्नुभयो, यो लोकतान्त्रिक पद्धति र प्रणालीका लागि कसरी स्वीकार्य हुन सक्छ ?” उनले भने।
उनले सम्पत्ति विवरणबारे उठेका प्रश्नको पारदर्शी जवाफ दिनुको साटो ढाकछोप गरिएको, पत्रकार र युट्युबरहरूलाई आलोचनाकै आधारमा पक्राउ गरिएको आरोप पनि लगाए।
“हिजो पुराना दलहरु सबै उस्तै हुन्, सबै खत्तम हुन् भन्ने भाष्य निर्माण गरियो। तर आज तपाईंहरु त्यही स्वेच्छाचारिता, प्रतिशोध, लोकतान्त्रिक मूल्यमा आघात गर्दै संसद् छल्ने काम गर्दै हुनुहुन्छ,” दाहलले भने।
संसद्मा जसको प्रवेश भए पनि आफैँ प्रवेश गरेजस्तो लाग्छ : दाहाल