काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

संसद्

२९ बैशाख २०८३
प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरू।
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा सरकारले आव ०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्को संयुक्त बैठकमा सोमबार प्रस्तुत सय बुँदाको नीति तथा कार्यक्रममाथि आज (मंगलबार) बाट सांसदहरूले आफ्ना धारणा राख्न थालेका हुन्।

नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुनुअघि शून्य समयमा सांसदहरूले मुलुकको समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले प्राकृतिक प्रकोपको पूर्वतयारी, सुशासन र जनजीविकासँग जोडिएका तात्कालिक समस्याहरू समाधान गर्न सरकारसँग माग गरेका थिए।

सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई सन्तुलित र प्रगतिशील दाबी गरे तापनि प्रमुख प्रतिपक्षी दललगायत अन्य विपक्षी दलहरूले भने यसको आलोचना गरेका छन्। विपक्षी सांसदहरूले यस पटकको कार्यक्रममा कुनै ‘नयाँपन’ नभएको र पुराना कार्यक्रमहरूलाई नै शब्दको जलप लगाएर ल्याइएको टिप्पणी गरेका छन्।

बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेसँगै दलीय आधारमा सांसदहरूले संशोधन र सुझावहरू राख्ने क्रम जारी छ। छलफलको अन्त्यमा प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।