काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको ओडीआई शृंङ्खला आजदेखि सुरु हुँदैछ।

शृङ्खलाको पहिलो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ। नेपाल र स्कटल्यान्डबीचको खेल विहान ९:३० बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

यो शृंखलामा तीन जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने छ। अंकतालिकाको शीर्ष दुईमा रहेका यी टोलीविरुद्ध जित निकाल्न नेपाललाई त्यति सहज भने हुनेछैन।

लिग २ को अंकतालिकामा अमेरिका र स्कटल्यान्ड शीर्ष २ मा भएका टोलीहरू हुन्। अमेरिकाले २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा ३४ अंकका साथ दोस्रोमा छ। नेपालले भने २४ खेलमा १८ अंक मात्र जोडेर सातौं स्थानमा छ। स्कटल्यान्डसँग नेपालले हालसम्म ५ ओडीआई खेल जित्दा ४ खेलमा पराजित भएको छ। घरेलु मैदानमा भएका दुवै खेल नेपालले जितेको छ।

यो शृङ्खला सुरु हुनुअघि स्कटल्यान्ड र अमेरिका नेपाल ए सँग दुई–दुई पटक पराजित भएका छन्। उक्त नतिजाले सिनियर टोलीलाई पनि जित निकाल्ने मनोबल बढ्नेछ भने चुनौती पनि रहनेछ।

नेपाली टोलीमा

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।