लेबनान। युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको सरकारी मिडियाले जनाएको छ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले सोमबार राति भएको इजरायली आक्रमणले राजधानी बेरुतबाट ९५ किलोमिटर टाढाको सहर कफर डोनिनको एउटा घरमा प्रहार गरेको रिपोर्ट गरेको छ।
घाइतेहरूलाई उपचारको लागि तटीय सहर टायरको अस्पतालमा लगिएको एनएनएले जनाएको छ। इजरायल र लेबनान बीच अप्रिल –१७ मा युद्धविराम भएको भए पनि इजरायलले दक्षिण लेबनानमा आफ्नो आक्रमणलाई तीव्र बनाएको जनाइएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार लेबनान गत मार्च –२ मा मध्यपूर्व युद्धमा तानिए पछि दुइ हजार ८०० भन्दा बढी मानिस मारिएका छन्।
लेबनानी नेताहरूले हाल बेरुतका लागि अमेरिकी राजदूतलाई इजरायललाई युद्धविरामको समयमा आक्रमण रोक्न दबाब दिन आग्रह गरेका छन् भने इजरायलले पनि गोली हानाहान भएको रिपोर्ट गरेको छ।
इजरायली सेनाले सप्ताहन्तको समयमा लेबनानसँगको सीमा नजिकैको लडाइँमा आफ्नो एक जना सैनिक मारिएको उल्लेख गर्दै युद्ध सुरु भए देखि १८ जना सैनिक र एक जना नागरिकको मृत्यु भएको बताएको छ।
यसै बीच मङ्गलबार एनएनएले अन्य दक्षिणी लेबनानी सहरहरूमा पनि नजिकै इजरायली आक्रमण भएको रिपोर्ट गरेको छ, भने इजरायली सेनाले पूर्वी लेबनानको बेका उपत्यकाको सोहमोर सहर खाली गर्न आदेश दिएको छ।