काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। संघीय संसद् अन्तर्गतका विभिन्न ८ वटा विषयगत समितिहरूको बैठक आज बस्दैछ।

सिंहदरबारस्थित विभिन्न समितिका कार्यकक्षहरूमा हुने यी बैठकहरूमा मुख्यगरी बजेट कार्यान्वयनको समीक्षा, सडक सुरक्षा, मन्त्रालयगत कार्ययोजना र विभिन्न स्थलगत अनुगमनका विषयमा विस्तृत छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै, बिहान साढे १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विषयगत उपसमिति गठनको विषयमा छलफल गर्ने कार्यसूची छ।

बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सडक सुरक्षा र मनसुनको समयमा सवारी व्यवस्थापनको विषयमा छलफल हुँदैछ।

बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिमा मधेशी आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुँदैछ।

बिहान १० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। जहाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची छ।

यस्तैगरी, बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिकै विषयमा प्रस्तुतीकरण छ।

 सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दैछ। जहाँ भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिंग सेन्टरको अनुगमन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गण्डकी प्रदेशमा भएको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची छ।