काठमाडौँ। विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले ट्स जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो। यस शृङ्खलामा नेपाल र स्कटल्याण्डसँगै अमेरिका सहभागी छन्।
लिग २ मा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । जसमा स्कटल्याण्ड ३४ अङ्कका साथ अङ्कतालिकाको दोस्रो स्थानमा छ। यता नेपाल भने १८ अङ्कका साथ सातौँ स्थानमा छ।
नेपाल र स्कटल्याण्डबीच हालसम्म १० एकदिवसीय खेलमा आमनेसामने भएका छन् । नेपाल पाँच खेलमा विजयी हुँदा स्कटल्याण्ड चार खेलमा विजयी भएको छ। पछिल्ला पाँच भेटमा तीन खेलमा नेपाल तथा एक खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेल वर्षाका कारण रद्द भएको थियो।
नेपाली टोलीमा
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।