फोटो कथा
स्वास्थ्य मन्त्रालयलाई बुझाइयो ध्यानाकर्षण पत्र
काठमाडौँ। मिर्गौला तथा विभिन्न रोगबाट पीडित व्यक्तिको हकहितका लागि कार्यरत मिर्गौला पीडित सरोकार समाजले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
सरकारले आफूहरूका मागप्रति बेवास्ता गरेको भन्दै समाजले ब्यानर र प्लेकार्डसहित मंगलबार प्रदर्शन गरेको हो।
माइतीघरमा भेला भएका पीडित तथा उनीहरूका आफन्तले मिर्गौला उपचारमा सहज पहुँच, निःशुल्क औषधि र कडा रोगका बिरामीका लागि राज्यले उपलब्ध गराउने सुविधालाई प्रभावकारी बनाउन माग गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले बिरामीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे।
प्रदर्शनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरूले ध्यानाकर्षण पत्र बुझेका छन्।
प्रदर्शनकारीहरूले देशैभरका अस्पतालमा डायलासिस सेवालाई थप व्यवस्थित र झन्झटमुक्त बनाइनुपर्ने‚ प्रत्यारोपण गरेका र कडा रोग लागेका बिरामीलाई आवश्यक पर्ने महँगो औषधिहरू सहुलियत दरमा वा निःशुल्क उपलब्ध गराउनुपर्ने‚ गम्भीर प्रकृतिका बिरामीका लागि सरकारले घोषणा गरेको जीवननिर्वाह भत्ता वितरणलाई नियमित र सहज बनाउनुपर्ने माग गरेका छन्।
ध्यानाकर्षण पत्र बुझाउँदै समाजका प्रतिनिधिहरूले यदि आफ्ना माग चाँडो सम्बोधन नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। मन्त्रालयका तर्फबाट पत्र बुझ्दै कर्मचारीहरूले बिरामीका समस्यालाई गम्भीरतापूर्वक लिएको र सम्बन्धित निकायमा पुर्याउने आश्वासन दिएका छन्।
