काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३० बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाली कबड्डीको इतिहासलाई समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ बुधबार स्क्रिनिङ गरिएको छ। नेपाल कबड्डी लिग दोस्रो सिजन तयारीको क्रममा ‘एनकेएल एन्थम’ पनि सार्वजनिक गरियो।

डकुमेन्ट्रीमा भगवान् गौतम बुद्धले ‘हुतुतु’ का रुपमा कबड्डी खेलेको इतिहासलाई पनि देखाइएको छ। निशान शाहीद्वारा निर्देशित डकुमेन्ट्रीमा २०३४ सालमा स्थापित अखिल नेपाल कबड्डी संघ, त्यसको दुई वर्षपछि सुरु भएको राष्ट्रिय प्रतियोगिता, माओवादी जनयुद्धताका प्रतियोगिताविहीन ११ वर्षको कठिन अवधिलाई पनि देखाउने प्रयास गरिएको छ।

अनि बंगलादेशमा भएको ११औँ दक्षिण एसियाली खेलकुद (साग २०१०) मा नेपाली कबड्डी टिमले जितेको ऐतिहासिक पदक, नेपालमै आयोजित १३औँ साग २०१९ र ढाकामा भएको चौथो बंगबन्धु कपका उपलब्धि, चीनमा महिला टिमले हात पारेका १९औँ एसियाली खेलकुद २०२२ र छैटौँ एसियन बिच गेम्स २०२६ का ऐतिहासिक कास्य पदकलाई डकुमेन्ट्रीले सुखद पक्षको रुपमा समेटेको छ। डकुमेन्ट्रीमा माटोदेखि म्याटसम्मको रूपान्तरणलाई संघर्ष र सफलताको कथाको रुपमा चित्रण गरिएको छ।

एनकेएल आयोजक एस्ट्रेनिक्स म्यानेजमेन्टद्वारा प्रस्तुत गरिएको डकुमेन्ट्रीको एक्ज्युकेटिभ प्रोड्युसर अमितकुमार बेगानी, प्रोड्युसर प्रवीनकुमार साह, एडिटर सुमन खड्का र क्रिएटिभ एडिटर असिम श्रेष्ठ छन्। डकुमेन्ट्री स्क्रिनिङलगत्तै र्यापर भियोमाद्वारा तयार पारिएको एनकेएलको एन्थम सङ पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रममा ‘एनकेएल, कबड्डी र व्यावसायिकता’ विषयमा प्यानल डिस्कसनसमेत गरिएको थियो, जहाँ पत्रकार राजु घिसिङ मोडोरेटर रहँदा एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरम्यान अमितकुमार बेगानी, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा र राष्ट्रिय खेलकुद परिषदका चिफ कोच (कबड्डी) पार्वती राई प्यानलिस्ट थिए।

नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ जेठ २२ मा सुरु हुँदै छ। प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। ती टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् स्वदेशी ५४ र विदेशी ३० गरी ८४ खेलाडी अनुबन्ध गरिसकेका छन्।