काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३० बैशाख २०८३
अ+
अ-

काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चुचुरोसम्मको मार्ग निर्माण कार्य सम्पन्न भएको छ। यससँगै यस वर्षको वसन्त यामको सगरमाथा आरोहण औपचारिक रूपमा खुला भएको छ।

पर्यटन विभागका अनुसार सगरमाथा, ल्होत्से र नुप्से हिमालमा पर्ने खुम्बु आइसफल क्षेत्रको व्यवस्थापन सगरमाथा प्रदूषण नियन्त्रण समितिले गर्दै आएको छ भने चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पर्वतारोहण सञ्चालक संघ नेपाललाई दिइएको थियो।

उक्त जिम्मेवारीअनुसार खटिएको टोलीले बिहान १० बजेर २५ मिनेटमा सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। यससँगै आरोहणका लागि मार्ग औपचारिक रूपमा सञ्चालनमा आएको हो।

आधार शिविरदेखि क्याम्प–२ सम्मको मार्ग निर्माण कार्य आइसफल डाक्टरहरूको टोलीले सम्पन्न गरेको थियो। उक्त टोलीमा आङ सार्की शेर्पा, दावा जङ्वु शेर्पा, टेन्डु शेर्पा, निग्मा तेन्जी शेर्पा, फुर्वा छेतेन शेर्पा, दावा छिरी शेर्पा, सोनाम गेल्जेन शेर्पा र मिग्मा गेल्जेन शेर्पा सहभागी थिए।

त्यस्तै क्याम्प-२ देखि शिखरसम्म डोरी टाँग्ने कार्यमा मिग्मा दोर्ची शेर्पा, पासाङ टाशी शेर्पा, लोप्साङ भुटिया, मिङ नोर्बु शेर्पा, छोम्बा तेन्जी शेर्पा, गुरु भोटे, पाम दोर्जी शेर्पा, मिङ्मा टेम्बा शेर्पा, देन्डी शेर्पा र पासाङ नोर्बु शेर्पा संलग्न थिए।

मार्ग खुला भएसँगै अब आरोहीहरू माथिल्ला शिविरतर्फ प्रस्थान गर्ने क्रम सुरु हुने जनाइएको छ।