काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन भन्दै कडा निर्देशन जारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचनामार्फत् राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाटै हटाउन सकिने चेतावनीसमेत दिएको छ ।
नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयको प्रष्टोक्ति छ ।
निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (ङ) लाई उद्धृत गर्दै मन्त्रालयले राजनीतिमा भाग लिने कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने’ कानुनी व्यवस्था रहेको स्मरण गराएको छ ।