काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आगामी १ देखि १० जेठसम्म आवेदन खुला गरिने जनाएको छ।
कामपाका अनुसार इच्छुक विद्यार्थीले १ जेठको बिहान १० बजेदेखि १० जेठ राति ११:५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन्। योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न छनोटका लागि १७ जेठ बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने पनि कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए। ढकालका अनुसार विद्यार्थीलाई कक्षा १० को पाठ्यक्रम आधारित १०० वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने पनि बताए।
ढकालका अनुसार कामपाले शिक्षामा गरेको लगानी, निगरानी, शिक्षा ऐन र कानुनको कडाइका साथ कार्यान्वयन गर्दा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्यामा हरेक वर्ष उल्लेख्य वृद्धि हुँदै आएको छ। गत शैक्षिक सत्रमा मात्रै कामपाले दुई अर्ब २५ करोड रुपैयाँबराबर छात्रवृत्ति वितरण गरेको थियो।
कानुन कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले यो सुविधा पाएकामा गत वर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का तीन हजार ३०२ गरी कुल २० हजार २८२ विद्यार्थीले छात्रवृत्ति पाएको कामपाको रहेको भनाइ छ। गत सोमबार एसईईको परीक्षाफल प्रकाशित भएसँगै कामपाले कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि दश दिनको समयसीमा निर्धारण गरेर फाराम भर्न माग गरेको हो।