सिन्धुपाल्चोक। माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सिन्धुपाल्चोकका सातवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ।
शिक्षा विकास तथा समन्वय एकाइका अनुसार लिसङ्खुपाखर गाउँपालिकास्थित बुद्धोदय मावि, धर्मोदय मावि, चौतारा साँगाचोकगढी नगरपालिकाको वनदेवी मावि चौतारा, बलेफी गाउँपालिकाको वनसाँघु मावि, भोटेकोशी गाउँपालिकाको मार्मिङ मावि र भीमसेन मावि तथा हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलमा साधारणतर्फ सबै विद्यार्थी ‘ननग्रेडेड’ भएका छन्।
यीमध्ये लिसङ्खुको बुद्धोदय मावि, भोटेकोशीको भीमसेन मावि र हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलमा प्राविधिक धारको समेत पठनपाठन हुने गरेको छ।
प्राविधिक धारतर्फ भने केही विद्यार्थीमात्र ‘ग्रेडेड’ भएका थिए। सिन्धुपाल्चोकमा रहेका १२९ सामुदायिक, ११ संस्थागत र तीन खुला विद्यालय गरी जम्मा १४३ विद्यालयले एसइई २०८२ मा सहभागिता जनाएका थिए।