काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन्।
नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौँ महानगरपालिका १५ का अंशुकिरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ। त्यस्तै उपभोक्ताका तर्फबाट नार्गाजुन नगरपालिका ५ का कृष्ण बसेल नियुक्त भए।
त्यस्तै प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ। श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय छन्। ऊर्जामन्त्री श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औँ बैठकले यस्तो निर्णय गरेको हो।
नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबारै ऊर्जामन्त्री श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराए।