काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको दबाब निरन्तर रहने चेतावनी दिएका छन् । उनले इरानको सैन्य क्षमता कमजोर भइसकेको दाबी गर्दै अमेरिका आफ्नो लक्ष्य हासिल गर्न दृढ रहेको बताएका छन् ।
मंगलबार चीन भ्रमणका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि लगाइएको नाकाबन्दी प्रभावकारी रूपमा काम गरिरहेको दाबी गरे । उनले अमेरिका आवश्यक परे शान्तिपूर्ण वा अन्य कुनै पनि माध्यमबाट आफ्नो उद्देश्य पूरा गर्न तयार रहेको स्पष्ट पारे ।
ट्रम्पले इरानको नौसेना, वायुसेना तथा समग्र युद्ध क्षमतामा ठूलो क्षति पुगेको उल्लेख गर्दै इरानले सही निर्णय लिनुपर्ने चेतावनी दिए । अन्यथा अमेरिका आफ्नो रणनीति अघि बढाउने उनको भनाइ थियो ।
यसैबीच, उनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रति असन्तुष्टि जनाउँदै आवश्यक समयमा गठबन्धनले पर्याप्त सहयोग नगरेको आरोप लगाए । यद्यपि नेटो महासचिव मार्क रुटेले भने युरोपेली सदस्य राष्ट्र र क्यानडाले रक्षा खर्च बढाउँदै गएको उल्लेख गर्दै संगठनको भविष्यप्रति आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।
मध्यपूर्वमा बढ्दो तनावबीच रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरू क्षेत्र अहिले विश्वव्यापी सुरक्षा चासोको केन्द्र बनेको छ । तेल आपूर्ति र समुद्री व्यापार सुरक्षालाई लिएर अमेरिका, इरान तथा नेटोबीच कूटनीतिक तथा सैन्य गतिविधि तीव्र बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।