तम्घास। गुल्मीमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ साहुघर निवासी ४५ वर्षीय थम्मनबहादुर कुमालले कुटपिट गर्दा उनकी श्रीमती सुमित्रा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
मंगलबार साँझ कुटपिटपछि राति नै सुमित्रालाई उपचारको लागि गुल्मी अस्पताल ल्याइएको थियो।
तर अस्पतालले राति १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा सारुले जानकारी दिइन्। मृतक सुमित्राको मुखमा र घाँटीमा चोट लागेको थियो भने छातीका सातवटा करङ भाँचिएको अस्पतालको प्रतिवेदनमा उल्लेख छ।
मादक पदार्थ सेवनबाट उक्त घटना घटेको प्रहरीले जनाएको छ । अहिले थम्मनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।