काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३१ बैशाख २०८३
तस्बिरः सुन्दरकुमार थकाली/रासस
अ+
अ-

गोरखा। मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ। विश्वको आठौँ र नेपालको सातौँ यो हिमाल यस अवधिमा तीन हजार ६४३ आरोहिले आरोहण गरेका छन्।

प्रथम पटक सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले ८ हजार १६३ मिटर अग्लो मनास्लुमा मानवस्पर्श गर्न सफल भएका थिए।

सन् १९७३ अप्रिल २२ मा पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ। मनास्लु हिमाल आरोहण गर्न थालेको ७० वर्ष पुगेको अवसरमा हालै गोरखा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ।

नेपाल पर्वतारोहण संघ, मनास्लु संरक्षण क्षेत्र आयोजनासँगको सहकार्यमा चुमनुब्री गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरियो।

सो अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गाउँपालिकाका प्रमुख निमा लामालगायतले प्रथम आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसी र नेपाली आरोही उर्गेनका छोरा छिरिङ शेर्पालाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे।

साथै मनास्लुको काखमा अवस्थित चुमनुब्री–१ सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा र अन्य आरोहीहरू नाङ्स्याल छेदेन र डिकी लामालाई सम्मान गरियो।

पर्वतारोहण संघले पोखरामा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको थ्री डी फोटो लोकार्पण गरियो।