काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३१ बैशाख २०८३
अ+
अ-

पोखरा। नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला सुरु भएको छ। कांग्रेसको संगठन सुदृढीकरण र आगामी कार्यदिशा तय गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश स्तरीय विशेष भेला तथा प्रशिक्षण कार्यक्रम बिहीबारदेखि पोखरामा सुरु भएको हो।

भेला तथा प्रशिक्षणको सभापति गगनकुमार थापाले उद्घाटन गरेका छन्। उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र स्थानीय तहसम्मै कांग्रेसको उपस्थिति प्रभावकारी बनाउन यो भेला कोसेढुंगा हुने विश्वास व्यक्त गरे।

स्थानीय सरकारमा कांग्रेसको भूमिका र जनतासँगको प्रत्यक्ष सम्बन्ध‚ आगामी निर्वाचन र पार्टीको सांगठनिक संरचनालाई चलायमान बनाउने रणनीति र पार्टीको नीति, सिद्धान्त र समसामयिक राजनीतिक मुद्दाहरूमा कार्यकर्तालाई स्पष्ट पार्ने भेलाको उद्देश्य रहेको कांग्रेसले जनाएको छ।

पोखराको सभाहलमा आयोजित भेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका अगुवा कार्यकर्ताहरूको उपस्थिति छ। कांग्रेसले सातै प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गर्ने मिति तोकिसकेको छ। यसअघि सुदूरपश्चिमको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा कांग्रेसले भेला सम्पन्न गरिसकेको छ।