काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३१ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले हरेक प्रदेशका स्थानीयले अपनत्व ग्रहण र गौरव गर्ने बनाउन संविधान संशोधन गरिनुपर्ने बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले नीति तथा कार्यक्रममा समेटेको संविधन संशोधन बहसपत्र निर्माण गर्ने विषयमा आफ्नो प्रस्ताव पेस गर्दै उनले सो कुरा बताएका हुन्।

“मधेसले आफ्नो पहिचान र सम्मान संविधानभित्रै भेट्न सकोस्, कर्णालीले काठमाडौंबाट टाढा भएको महसुस गर्नु नपरोस्,” उनले भने, “सुदूरपश्चिमले आफूलाई दूर होइन, काठमाडौँ सँगसँगै महसुस गर्न सकोस्।”

उनले संशोधन प्रतिगमन वा उपलब्धिबाट पछि हट्नका निम्ति हुन नहुनेमा जोड दिँदै भने, “संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छ, न कि प्रतिगमनका लागि। जनताले पाएको अधिकारको कसीमा संशोधनको विषय अघि बढ्नुपर्छ। यो अक्षरहरूको संग्रह होइन, यो त रगत र पसिनाले लेखिएको राष्ट्रिय दस्ताबेज हो। यसले आमनेपालीलाई भावनात्मक रूपमा बाँधेको छ। त्यो बन्धन टुट्ने होइन, अझ कसिलो बनाउने गरी संविधन संशोधन हुनुपर्छ।”