लखनउ। भारतको उत्तर प्रदेशमा बुधबार आएको विनाशकारी आँधी-हुरी, असिना र चट्याङका कारण जनधनको क्षति भएको छ। राज्य विपत् व्यवस्थापन तथा राहत कार्यालयका अनुसार यस प्राकृतिक विपद्मा अहिलेसम्म ८९ जनाको मृत्यु भइसकेको छ।
विपत्मा परेर ५३ जना सख्त घाइते भएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ। यस्तै ८७ वटा घरमा पूर्ण/आंशिक रूपमा क्षति पुगेको छ। कार्यालयका अनुसार ११४ वटा घरपालुवा जनावर मरेका छन्।
आँधी-हुरी र चट्याङले उत्तर प्रदेशका सडककिनारका रूख, ठुला होर्डिङ बोर्ड र बिजुलीका पोलहरू ढलेका छन्। कतिपय स्थानमा रूख र बोर्डहरू गुडिरहेका सवारीसाधनमाथि खसेका छन्। जसका कारण केही स्थानमा मानिसले ज्यानसमेत गुमाएका छन्।
उत्तर प्रदेशका राहत आयुक्तका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले विपत्लाई गम्भीर रूपमा लिँदै सबै सरोकारवाला जिल्लाधिकारीहरूलाई चौबीस घण्टाभित्र प्रभावित परिवारलाई सहायता रकम वितरण गर्न निर्देशन दिएका छन्।
उनले पीडितहरूलाई तत्काल आवास, उपचार र राहत सामग्री उपलब्ध गराउन प्रशासनलाई चनाखो रहन आग्रह पनि गरेका छन्।
समाजवादी पार्टीका नेता तथा पूर्वमुख्यमन्त्री अखिलेश यादवले सामाजिक सञ्जाल एक्समार्फत सरकारलाई युद्धस्तरमा उद्धार कार्य अघि बढाउन अपिल गरेका छन्। उनले लेखेका छन्‚ “सरकारले घाइतेहरूको नि:शुल्क उपचार, खाना-पानी र अस्थायी बसोबासको व्यवस्था तुरुन्तै गरोस्। साथै बालीनाली र सवारीसाधनको क्षतिको आकलन गरी उचित मुआब्जा र बिमा रकम सुनिश्चित गरिनुपर्छ।”
अहिले प्रभावित क्षेत्रहरूमा स्थानीय प्रशासनले अवरुद्ध सडकहरू खोल्ने र बिजुली आपूर्ति सञ्चालन गर्ने प्रयास गरिरहेको छ। मौसम विभागले अझै केही दिन सतर्क रहन चेतावनी दिएको छ।