काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो।
भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल-जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गरे।
उनले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य अझ विस्तार हुने अपेक्षा राखेको सभामुखको स्वकीय सचिवालयले जनाएको छ।
त्यस अवसरमा राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्व दिएको उल्लेख गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।