काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र रोयल थाई प्रहरीअन्तर्गत सीमासम्बन्धी साइबर अपराध तथा मानव बेचविखन विरुद्धको विशेष कार्यदलका निर्देशक डा थाचाइ पितानीलबुटबीच भेटवार्ता भएको छ।

थाइल्याण्डमा आज भएको भेटमा आपसी हितका क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ गर्ने विभिन्न उपायहरूबारे छलफल भएको दूतावासले जनाएको छ।

सो अवसरमा विशेषगरी मानव बेचविखन, तस्करी, अनलाइन ठगी तथा साइबर अपराध नियन्त्रण, साथै गुप्तचर तथा सूचना आदानप्रदान र क्षमता अभिवृद्धिसम्बन्धी सहकार्यलाई मजबुत बनाउने विषयमा विचार विमर्श भएको थियो।

दुवै पक्षबीच थाइल्याण्डलाई ट्रान्जिट विन्दुका रूपमा प्रयोग गर्दै मानव बेचविखनमा संलग्न समूहहरूले पर्यटक भिसा सुविधाको बढ्दो दुरूपयोग गरिरहेको विषयमा विचार आदानप्रदान गरेका थिए।

सो अवसरमा राजदूत ओलीले थाइल्याण्ड तथा छिमेकी मुलुकहरूमा बेचविखनमा परेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्ताका लागि रोयल थाइ प्रहरीले प्रदान गरेको सहयोगप्रति प्रशंसा व्यक्त गरे। दुवै पक्षले छिमेकी मुलुकहरूमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्रहरूको बढ्दो समस्याबारे समीक्षा गर्दै त्यस्ता ठगी केन्द्रहरूमा बेचविखनमा परेका व्यक्तिहरूको उद्धारका लागि अझ नजिकको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।