काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरी, केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला चौबीस घण्टामा काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो।

त्यस क्रममा काठमाडौँको गोकर्णेश्वर नगरपालिका ८‚ जोरपाटी बेंसीगाउँबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १२ ग्राम ६४० मिलिग्रामसहित सात जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही नगरपालिका ६ बेसीगाउँ बस्ने २३ वर्षीय अनिल केसी, ४४ वर्षीय वसन्त तिमल्सिना, सोही नगरपालिका ८ बस्ने ३७ वर्षीय विक्रम ठकुरी, २५ वर्षीय प्रज्वल मैनाली, ३५ वर्षीय देवेन्द्र अर्याल, काठमाडौँ चुनिखेल बस्ने सोलुखुम्बु घर भएका ५० वर्षीय प्रशान्त राई र काठमाडौँ गौशाला पिंगलास्थान बस्ने दोलखा घर भएका ४७ वर्षीय पेम्बा तामाङ छन्।

यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका ८‚ कुशल चोकबाट लागुऔषध ट्रामाडोल दुई हजार २१० ट्याब्लेट र स्पास्पेन दुई हजार ३२० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २४ वर्षीय सुशन राईलाई गएराति पक्राउ गरिएको छ।

यसैगरी रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ४‚ महुबारीबाट लागुऔषध स्पास्मो ४८० ट्याब्लेटसहित सोही नगरपालिका ११‚ मसिना बस्ने ३३ वर्षीय बर्कत अली, झापाको कनकाई नगरपालिका ५‚ चाप्रमारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ११ ग्राम ९७० मिलिग्राम कमल गाउँपालिका ५ बस्ने २६ वर्षीय काले भन्ने जितबहादुर लिम्बू र दमक नगरपालिका ६ बस्ने २० वर्षीय प्रदीप रसाइलीलाई शुक्रबारै पक्राउ गरिएको छ।

यस्तै कैलालीको गोदावरी नगरपालिका २ स्थित आरबी होटेलबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १२० मिलिग्रामसहित होटेलका सञ्चालक कञ्चनपुर कृष्णपुर नगरपालिका ७ का ३६ वर्षीय तिलकबहादुर वलीसहित चारजना, जिल्लाकै टीकापुर नगरपालिका ९‚ खक्रौलाबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १९ ग्राम १६० मिलिग्रामसहित दुईजना, सोही स्थानबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ तीन ग्राम ६६० मिलिग्रामसहित तीनजना र कञ्चनपुरको कृष्णपुर नगरपालिका ५‚ गजरौलाबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १८० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरिएको जनाइएको छ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका ४ बाट लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ३५० मिलिग्रामसहित एकजना, धनकुटाको साँगुरीगढी गाउँपालिका ३‚ मादेन डेरा गरी बस्ने ४० वर्षीया विष्णु याखालाई करिब ९२ किलो लागुऔषध गाँजासहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १०‚ बसपार्कबाट २१ किलो ३१० ग्राम लागुऔषध गाँजासहित पर्सा विन्दबासिनी गाउँपालिका ४‚ मधुवन बस्ने ६० वर्षीय लक्चन हजरालाई आज (शनिबार) बिहान प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।