सुर्खेत। नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताएका छन्।
कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी छिन्नभिन्न अवस्थामा रहेकाले पार्टीलाई एकताबद्ध र मजबुत बनाउने उद्देश्य आफूहरू क्रियाशील रहेको बताउनुभयो ।
पूर्वकार्यवाहक सभापति खड्काले पार्टी विभाजनको अवस्थामा गएको भन्दै यसलाई रोक्न पार्टी नेता र कार्यकर्ता गम्भीर हुनुपर्नेमा जोड दिए। उनले सभापति गगनकुमार थापालाई सिंगो कांग्रेसको सभापति भएर नेतृत्व गर्न आग्रह गरे।
खड्काले घेराबन्दी र गुटबन्दीबाट जोगिएर सही नेतृत्व गर्नु आजको आवश्यकता रहेको धारणा राखे। उनले कांग्रेसमा समस्या आउँदा देशले नै समस्या भोग्नुपरेको स्मरण गर्दै हाल देखिएका समस्या समाधान गरेर पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
कांग्रेस नेता जीवनबहादुर शाहीले पार्टीलाई बलियो बनाउन जिम्मेवार भूमिका खेल्न सबैलाई आग्रह गरे।