काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि उत्पन्न हुन सक्ने बजार समस्यालाई लिएर नेपाल सरकारले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत उपभोक्ता हित र बजार मूल्य स्थिरताका लागि सरकार प्रयासरत रहेको बताएको छ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार नेपालमा हाल चिनीको अभाव हुने स्थिति छैन। स्वदेशी चिनी उद्योगहरूको उत्पादन र सरकारी निकायहरूको मौज्दात गरी करिब आठ महिनाको माग धान्न पुग्ने चिनी सुरक्षित रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

‘साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त मौज्दात रहेको छ‚’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छ। नेपाल चिनी उत्पादक संघका पदाधिकारीहरूले बजारमा चिनीको सहज र सुलभ आपूर्ति नियमित गर्न प्रतिबद्धता जनाएका छन्।

भारतको प्रतिबन्धको बहानामा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि सरकारले कडा निगरानी राख्ने भएको छ। मन्त्रालयले मातहतका निकायलाई बजार अनुगमन तीव्र पार्न र कानुनबमोजिम कारबाही गर्न निर्देशन दिइसकेको छ।

प्रवक्ता सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “चिनीको उपलब्धता र आपूर्तिमा कुनै दुविधा नभएकाले आमउपभोक्तालाई अनावश्यक सञ्चिति नगर्न अनुरोध गर्दछौँ।” सरकारले अत्यावश्यक वस्तुको आपूर्ति र मूल्य स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत जनाइएको छ।