काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आदिवासी, जनजातिहरूको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढंगले सम्बोधन हुने गरी पहल गर्ने प्रतिबद्धता जनाएको छ।
पार्टी मुख्यालय सानेपामा पुगेका नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरूले बुझाएको अडानपत्र ग्रहण गर्दै पार्टीका उपसभापति पुष्पा भुसालले प्रतिबद्धता जनाएकी हुन्।
भुसालले नेपालको संविधानले नै आदिवासी जनजातिहरूको प्रतिनिधित्वको सवाललाई सुनिश्चित गरेकाले पार्टीभित्र र सरकारमा पनि उचित प्रतिनिधित्व र नेतृत्वको लागि पनि कांग्रेसले संसद्भित्र र बाहिर पहल गर्ने बताइन्। कांग्रेसले संविधान संशोधनबारे स्पष्ट दृष्टिकोण बनाउन गइरहेको उल्लेख गर्दै त्यसमा आदिवासी जनजातिहरूको अधिकारको सवाललाई गम्भीरतापूर्वक अघि बढाउने आश्वासनसमेत उनले दिइन्।
त्यस अवसरमा अडानपत्रबारे स्पष्ट पार्दै नेफिनका अध्यक्ष नीमा लामा ह्योल्मोले विगतदेखि नै समावेशी सिद्धान्त अवलम्बन आएको पार्टीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउनका निम्ति महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नेपालको आदिवासी जनजातिहरूको हक-अधिकार सुनिश्चित गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न अनुरोध गर्दै अध्यक्ष लामाले भने, “२०७२ सालको नेपालको संविधानले आदिवासी जनजातिहरूको थुप्रै अधिकार लिपिबद्ध भएका छन्। संविधानमा उल्लेख गरिएका अधिकार कार्यान्वयन गर्ने अवस्थामा अहिले रहेकाले संविधान कार्यान्वयन र अहिलेको विशेष परिस्थितिमा नेपाली कांग्रेस पार्टी र संसदीय दललाई विशेष आग्रह गर्न चाहन्छु। प्रधानमन्त्रीको सल्लाहकारको संयोजकत्वमा संविधान संशोधनका लागि समिति गठन भएको छ। कांग्रेसबाट समितिमा प्रतिनिधित्व गर्नुहुने नेतृत्वमार्फत नेपालको आदिवासी जनजातिको अधिकार र संविधानमा भएको आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न भूमिका निर्वाह गर्न आग्रह गर्दछु।”
यसैगरी अडानपत्र प्रस्तुत गर्दै नेफिनका महासचिव विमल सारुमगरले आदिवासी जनजातिहरूको मुद्दालाई गम्भीरतापूर्वक अघि बढाउन राजनीतिक दल र सरकारलाई आफूहरूको अडान र माग राखिएको बताए।