काठमाडौँ। कीर्तिमानी हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्।
सोलुखुम्बुको थामेका ५६ वर्षीय शेर्पाले आज बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरे। उनले विश्वको सर्वोच्च शिखरमा सबैभन्दा धेरै पुग्ने आफ्नै कीर्तिमानलाई तोड्दै नयाँ इतिहास रचेका हुन्।
यसअघि सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्दै आएका शेर्पाले यसपटक भने ‘फोर्टिन पिक्स एक्सिपिडिसन’ मार्फत सञ्चालित ‘एडभेन्चर-२४ फोर्टिन पिक्स एभरेस्ट एक्सिपिडिसन’को नेतृत्व गर्दै ऐतिहासिक सफलता हासिल गरे।
सन् १९९४ मा पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेकेका उनलाई विश्वभर ‘एभरेस्ट म्यान’का रूपमा चिन्ने गरिन्छ। फोर्टिन पिक्स एक्सिपिडिसनका संस्थापक टासी लाक्पा शेर्पाले कामिरिताको उक्त उपलब्धि नेपाल र विश्व पर्वतारोहण समुदायका लागि गौरवको विषय भएको बताए।
“कामिरिताको यो उपलब्धि केबल व्यक्तिगत सफलता मात्र नभई नेपालको सान र हिमालको भावनालाई विश्वमाझ पुर्याउन एउटा ठूलो माध्यम हो। हामी उहाँको यो निरन्तरको यात्राको सहयोगी बन्न पाएकामा अत्यन्त गर्व गर्दछौँ‚” उनले भने।
महिला आरोही लाक्पा ११औँ पटक सगरमाथा चुचुरोमा
यसैबीच महिला आरोही लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गरेकी छन्। सङ्खुवासभाको मकालुकी लाक्पा शेर्पाले आज बिहान ९:३० बजे ११औँ पटक सगरमाथाको चुचुरोमा पाइला टेकिन् ।
कुनै महिला आरोही सगरमाथा चढेको यो नै सबैभन्दा धेरैपटक भएको पर्यटन विभागले जनाएको छ। यसअघि लाक्पाले सन् २०२२ मा १०औँ पटक सगरमाथा आरोहण गरेकी थिइन्। त्यसबेला उनले आफ्नै नाममा रहेको नौपटक सगरमाथामा पुग्ने महिला आरोहीको कीर्तिमान तोडेकी थिइन्। हालसम्म कम्तीमा सात हजार आरोहीले १२ हजारपटक सगरमाथा चुचुरोको सफल आरोहण गरिसकेका छन्।