काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३ जेष्ठ २०८३
अ+
अ-

नेपालगन्ज। वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको ‘एम्स सोसल अवार्ड’ प्रदान गर्ने निर्णय गरेको छ।

संसारभरका रेस आयोजकमध्येबाट छनौट हुने यो एम्सको निकै प्रतिष्ठित अवार्ड हो।

नर्वेको ट्रम्सोमा यही जुन १८–२० मा हुने एम्सको २५औं वर्ल्ड कंग्रेसमा उक्त अवार्ड प्रदान गरिने छ। छनोट समिति संयोजक एवं एम्स उपाध्यक्ष मार्था मोरालेसबाट अवार्डबारे जानकारी र बधाई प्राप्त भएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए।

यसअघि २०१३ मा ग्रेट इथोपियन रन (इथोपिया), २०१४ मा टोकियो म्याराथन (जापान), २०१५ मा म्याराथन इन्टरनेसनल लाला (मेक्सिको), २०१६ मा म्युनिख म्याराथन (जर्मनी), २०१७ मा म्याराथन दि लस फ्लोरेस मेडेलिन (कोलम्बिया), २०१८ मा बेलग्रेड म्याराथन (सर्बिया), २०१९ मा हार्मोनी जेनेभी म्याराथन फर युनिसेफ (स्वीटजरल्याण्ड)ले यो अवार्ड प्राप्त गरेका थिए। विविध कारणले बीचमा केही वर्ष रोकिएको यो अवार्ड यस वर्षदेखि निरन्तर प्रदान गर्न लागिएको उपाध्यक्ष मार्थाले बताइन्।

उपाध्यक्ष मार्थाले नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीलाई पत्र लेख्दै भनेकी छन्,“हामी तपाईंलाई यो जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौं कि नेपालगन्ज म्याराथन यस वर्षको प्रतिष्ठित एम्स सोसल अवार्ड प्राप्तकर्ताका रुपमा चयन भएको छ।’ दौडको दुनियाँमा यो अत्यन्तै सम्मानित पुरस्कार भएको मार्थाले उल्लेख गरेकी छन्।

“प्रत्येक वर्ष त्यस्ता उत्कृष्ट म्याराथनलाई प्रदान गरिन्छ, जसले म्याराथन आयोजनामा उत्कृष्ट अभ्यास प्रस्तुत गर्दै खेलकुदको दिगो विकासका पक्षमा आफ्नो सशक्त प्रतिबद्धता जनाएको हुन्छ,” उनले भनेकी छन्, ‘यो विशेष पुरस्कारमार्फत तपाईं र तपाईंको संस्थाले समाजमा सञ्चालन गरेका सामाजिक पहलहरू र सकारात्मक कार्यहरूको सम्मान गरिएको हो। एम्सले अन्य सदस्य संस्थाहरूलाई पनि आफ्ना कार्यक्रमहरूमा यस्ता उत्कृष्ट अभ्यासहरू अपनाउन प्रेरित गर्ने उद्देश्य राखेको छ। हामी आशा गर्दछौं कि यो उपलब्धिले तपाईंलाई अझ उच्च सफलता हासिल गर्न प्रेरणा दिनेछ। यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई।”

नेपालगन्ज म्याराथन २०१५ देखि अभिछिन्न रुपमा सञ्चालन हुँदै आएको दौड हो। कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो। ११ वर्षे सशस्त्र द्वन्द्व विधिवत् अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता गरिएको ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगन्जले म्याराथन यात्रा सुरु गरेको हो।