काठमाडौँ। मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका-४ स्थित एक्लेभट्टीबाट सशस्त्र प्रहरीले ५९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट (भेप) बोकेका दुई वटा कन्टेनर नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीका अनुसार १ जेठको राति कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ। कोरोला नाका हुँदै काठमाडौँ आइरहेका ना६ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसक्रममा धादिङ जिल्लाको धुनीबेशी नगरपालिका-१ का सन्तोष लामा, सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-२ का फुन्चुदोर्जे तामाङ र पासाङ शेर्पा छन्।
नियन्त्रणमा लिइएको सामान इलेक्ट्रिक भेपसहित २५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
कन्टेनर र पक्राउ परेकाहरूलाई कारवाहीको लागि प्रहरी मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ।