संसद् बैठक
प्रतिनिधिसभा बैठकमा सांसद्हरूले के भने?
काठमाडौँ। संसद्मा समाचार संकलन गर्ने पत्रकारका लागि सहज रूपमा काम गर्ने व्यवस्था गर्न सांसदले माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद खगेन्द्र सुनारले संसदीय समाचार संकलनमा खटिएका पत्रकारलाई घाममा बस्नुपर्ने, पानी पिउन नपाउने र शौचालय जानेसमेत उचित व्यवस्था नभएकाले सरोकारवालाको ध्यानाकर्षण गराए।
संसदीय मामिलामा समाचार संकलन गर्ने पत्रकारका लागि नयाँ संसद् भवनमा स्थान अभाव छ। बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मिडिया सेन्टरको व्यवस्था भए पनि अहिलेको भवनमा सहज व्यवस्था नभएपछि सांसद्ले संसद्मै यो विषय उठाएका हुन्। बानेश्वरमा संसद सञ्चालन हुँदा पनि मिडिया सेन्टरमै सुरक्षाकर्मी पनि बस्ने गर्दा हल्लाले समाचार संकलन गर्न कठिन हुने गरेको थियो।
सांसद खेमराज कोइरालाले पशुधन र पशु अधिकारको रक्षा गर्न आगामी वर्ष विशेष बजेट उपलब्ध गराउन माग गरे। सांसद गणेश कार्कीले मोरङ ३ को भूमि समस्या समाधान गर्न माग गरे।
सांसद गणेश धिमालले पर्यटकीयस्थल सिम्रौनगढको विकासका लागि त्यहाँ जाने सडकको मुआब्जा दिएर अलपत्र रहेको सडक निर्माण पूरा गर्न माग गरे। सांसद गणेश पराजुलीले चक्रपथको काम लामो समयदेखि अलपत्र भएकाले छिटो काम गराउन माग गरे।
सांसद गणेश पौडेलले रौतहट क्षेत्र ४ मा बागमतीको कटानले पुर्जा भएको जग्गाधनी पनि सुकुम्बासी भएको सुनाउँदै ऐलानी जग्गामा बसेकालाई स्थानीय तहले छोड भनी सूचना टाँस गरेर आतंकित बनाएको बताए।
सांसद गणेशबहादुर विश्वकर्माले दासप्रथाको अवशेषका रूपमा रहेका हरुवाचरुवा आदिलाई १०० बुँदे कार्यक्रममा नराखिएकाले अहिले राजधानीमा आइपुगेको बताए। उनले उनीहरूको समस्या समाधान गर्न माग गरे।
सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको दुम्लिङमा झोलुंगे पुल निर्माण गर्न माग गरे। दार्चुलामा टावर जडानमा ढिलाइ भएकाले छिटो सञ्चार सेवा उपलब्ध गराउन उनले माग गरे।
सांसद गीता गुरुङले विद्यार्थी राजनीति अराजकता हो भने छानबिन सांसदहरूबाटै सुरु गर्न र सत्तारूढ दलका नेतामाथि पनि उठेको प्रश्नको छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइन्।
सांसद गीताकुमारी सेन्दाङले आगामी वर्षको बजेट भुइँमान्छेलाई पनि छुने गरी ल्याउनुपर्ने माग गरिन्। सांसद गोपाल शर्माले मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम क्षेत्रका केही पुल अलपत्र भएकाले समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद गोविन्द पन्थीले बेरोजगार युवा रोजगारीका लागि विदेश गएर काम गर्दा विभिन्न खालका असहज अवस्थामा पर्दा त्यहाँस्थित नेपाली राजदूतावास मूकदर्शक बनेको बताए। वैदेशिक रोजगारीमा गएर पीडित भई कानुनबमोजिम तोकिएको रकम प्राप्त गर्न पीडितले कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरे।
सांसद गंगा छन्त्यालले अपांगता भएका दीपक भण्डारीले सामाजिक सञ्जालमार्फत इच्छामृत्युको माग गरेकाले त्यस्तो किन आयो भनी छानबिन गरेर समस्या समाधान गर्न माग गरिन्। सांसद गंगादेवी श्रेष्ठले प्रधामन्त्रीले काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा राखेको ग्रेटर नेपालको नक्सा कता गयो? भनी प्रश्न गरिन्। मुस्ताङको युरेनियम खानी कसैलाई दिएको भनी सार्वजनिक भएकाले के हो भनी त्यसको वास्तविकता जनसमक्ष ल्याउनुपर्नेमा उनले जोड दिइन्। सरकारमा रहेका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिमा उल्लेख गरिएका सुनको बिल सार्वजनिक गर्न पनि सांसद श्रेष्ठले माग गरिन्।
सांसद चन्दनकुमार सिंहले कृषिप्रधान देश भनिए पनि किसान सिँचाइ, मल र बिउबाट पीडित भएको, खेतीमा भविष्य नदेखेर युवा विदेशिएकाले कृषिमा आवश्यक व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए। सांसद कमल सुवेदीले दाङको टरिगाउँ विमानस्थल उपेक्षामा परेको बताए। उनले त्यस क्षेत्रका सडक पनि दयनीय अवस्थामा रहेर दुर्घटना बढेकाले सडक बनाउन पर्याप्त बजेटको व्यवस्था गर्न माग गरे।
सांसद कुलभक्त शाक्यले काठमाडौँको सामाखुसी, रानीबारी क्षेत्रमा चार मिटरको मापदण्डका नाममा सरकारले डोजर लगाएर हटाउन खोजेकाले ज्येष्ठ नागरिकको पनि विचल्ली भएको बताए। उनले भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
सांसद ऐनबहादुर महरले बझाङका भुवन बोहोरा नवलपरासीमा दुर्घटनामा निधन भएकाले सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकता दिन माग गरे।