नवलपरासी। नवलपरासी (बर्दघाट-सुस्ता-पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका ४ स्थित जयश्री खोलाको भङभङे तालमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
गैँडाकोट १‚ नवदुर्गा टोलकी मनीषा थापाकी ११ वर्षीया छोरी सजिना पौडी खेल्ने क्रममा सोमबार दिउँसो तालमा डुबेर बेपत्ता भएकी थिइन्।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी नायब निरीक्षक नवीन कटुवालको कमान्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले खोजी गर्ने क्रममा पानीको दहबाट मृत अवस्थामा सजिनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।