काठमाडौँ। राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले पूर्वाधार विकास तथा बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले पूर्वाधार योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए। उनले योजनाको कार्यान्वयनमा परिणाममुखी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए। सांसद घनश्याम रिजालले विगतदेखि नै बजेट कार्यान्वयन, पुँजीगत खर्च तथा आयोजना व्यवस्थापनमा विभिन्न कमजोरी देखिँदै आएको उल्लेख गर्दै विशेषगरी पुँजीगत खर्च वृद्धि गर्न आवश्यक रहेको बताए।
सांसद सम्झना देवकोटाले गाउँगाउँमा बस्ती एकीकृत गर्ने योजना ल्याउनुपर्ने धारणा राख्दै सडक सुरक्षासँगै निर्माणको गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्। सांसद कमला पन्तले निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउँदा पूर्वाधार विकासका काम समयमै सम्पन्न गर्न चुनौती भइरहेको बताइन्। सांसद भुवनबहादुर सुनुवारले सांसदहरूले माग गरेका योजनाप्राप्त गर्न कठिनाइ हुने गरेको गुनासो गर्दै बूढीगण्डकी जलविद्युत् आयोजना समयमै कार्यान्वयन सुरु गर्नुपर्ने बताए।
त्यसैगरी, सांसद सावित्री मल्लले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरिन्।