काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ मा हाल सम्म ८७.०८ प्रतिशत गणना सम्पन्न भएको छ।

थापाथलीस्थित कार्यालयमा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमार्फत गणनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो।

कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले २ वैशाखदेखि सुरु भएको गणना आगामी ७ असारसम्म जारी रहने बताए। यसबीच देशभरका गणकले स्थलगत तथ्यांक संकलन गरी हालसम्म आठ लाखभन्दा बढी कागजी फाराम र १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ बाँडिसकेको उनले जानकारी दिए।

कार्यालयका प्रमुख तथ्यांक अधिकारी कमलप्रसाद पोख्रेलले स्थलगत विवरण संकलन सक्रिय रूपमा भइरहेको बताए। उनले गणनामा खटिने प्रतिष्ठानले सत्य, तथ्य विवरण उपलब्ध गराइदिन आग्रह पनि गरे।

प्रमुख तथ्यांक अधिकारी पोख्रेलले सरकारलाई आगामी लक्ष्य पूरा गर्न राष्ट्रिय आर्थिक गणना महत्त्वपूर्ण आधार बन्न सक्ने धारणा राखे। प्रतिष्ठान, व्यवसायको संरचना, संख्या, विवरण र रोजगारी तथा आर्थिक विवरण प्राप्त गर्ने, कुल गार्हस्थ उत्पादन तथा राष्ट्रिय लेखाका अन्य अनुमानलाई समयसापेक्ष सुदृढीकरण गर्ने, प्रतिष्ठानमा आधारित सर्वेक्षण सञ्चालन गर्न तथ्यांकीय ‘स्याम्पल फ्रेम’ प्राप्त गर्ने, संघीय संरचनामा सबै सरकारलाई आर्थिक विकासको नीति, योजना तथा कार्यक्रम तर्जुमा र मूल्यांकन गर्नेलगायत उद्देश्यका लागि आर्थिक गणना प्रभावकारी हुने उनले बताए।