काठमाडौँ। प्रतिनिधिसभा बैठकमा सोमबार पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न माग गरिएको छ।
नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले पूर्वगृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएको भन्दै तत्काल निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।
उनले पूर्वगृहमन्त्रीलाई चोख्याउन र बचाउनका निम्ति सम्पत्ति छानबिन आयोग नै लागिपरेको जनस्तरमा व्यापक आशंका र चर्चा रहेको बताउँदै भने, “कुनै पनि शक्तिशाली पदमा बसेको व्यक्तिले कानुनभन्दा माथि रहने उन्मुक्ति पाउनु हुँदैन र आयोगले कसैको दबाब वा प्रभावमा परेर चोख्याउने काम नगरोस्।”
उनले अगाडि भने, “प्रतिनिधिसभा जनताको विश्वासको केन्द्र हो, तसर्थ यो गरिमामय सदनमार्फत म सरकारसँग माग गर्दछु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्वगृहमन्त्रीको सम्पत्तिको उच्चस्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्।”