काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

सदनमा सांसद

समसामयिक विषयमा ध्यानाकर्षण

४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्ने सांसदहरूले वर्षायामसँगै बाढीपहिरो र डुबानको त्रासदेखि बाँदर, बँदेल आतंकले किसानमा परेको चिन्तालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा सांसद गीता देवकोटाले वर्षायाम सुरु भएदेखि बाढी, पहिरो र डुबानको त्रासमा बाँच्न बाध्य नागरिकलाई तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि तयारी हुन सरकारको ध्यानाकर्षण गराइन्। सांसद जगत तिमिल्सिनाले विश्वविद्यालयका शैक्षिक संस्थाहरूले निर्देशन गरेको प्राध्यापन र परीक्षा प्रणाली सञ्चार गरेर बाँकी समयमा अन्य काम गर्दा गलत प्रचार गर्न नहुने धारणा राखे।

सांसद मीना सिंह रखालले दैलेखसहित देशमा विभिन्न भागमा बाँदर र बँदेलका कारण किसान मर्माहत भइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै जंगली जनावर नियन्त्रण गरी दीर्घकालीन रूपमा किसानका समस्या समाधान गर्न माग गरिन्। सांसद रञ्जित कर्णले सरकारले सुशासनका नाममा ट्रेड युनियन खारेज गर्न नहुनेमा जोड दिँदै सरकारले यो विषय तत्काल सच्च्याउन माग गरे।

सांसद रामकुमारी झाँक्रीले सुशासन र गुणस्तरीय सेवामा नाममा नागरिकलाई तर्साएर शासन गर्न नहुने धारणा राखे। उनले कानुनविपरीत काम गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन्। सांसद रेखाकुमारी झाले नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन नसकेको बताउँदै जनतालाई रोजगारी र विकास दिन सरकारसँग माग गरिन्।

सांसद रोशनी मेचेले देशको शान्तिसुरक्षा खस्किँदै गएको, धेरै व्यक्तिको हत्या भएको र अनलाइनबाट धेरै ठगी भइरहेको अवस्थामा मुलुकमा शान्तिसुरक्षामा ध्यान दिने गृहमन्त्री नभएकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। सांसद सम्झना देवकोटाले जेन-जी प्रदर्शनका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन्।

सांसद सोमनाथ पोर्तेलले भारतीय आयल कर्पोरेसन नेपालले पेट्रोलिय पद्धार्थ ल्याउने गरेको र भारतमा भन्दा नेपालमा डिजेल ६७, पेट्रोल ४८ र एलपी ग्यास ५५५ बढी भएर पनि नेपाल आयल निगम घाटामा भएको भन्ने भनाइप्रति सरकारको ध्यानाकर्षण गराए।