काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

५ जेष्ठ २०८३
अ+
अ-

पर्सा। पर्सा प्रहरीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको अपराधअन्तर्गत अनुसन्धान थालेको छ।

सोमबार बेलुका पर्सा प्रहरीले झापा विर्तामोड नगरपालिका-५ घर भई भक्तपुर ठिमी नगरपालिका-६ बस्ने ५६ वर्षीय प्रसाईंलाई पक्राउ गरेको थियो।

प्रहरीले मंगलबार प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन र राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको छ। “उपरोक्त मुद्दामा जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ,” पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले भने।

प्रसाईं महाअभियानको कार्यक्रम सिलसिलामा पर्सा पुगेका थिए। उनलाई प्रहरीले सिद्धार्थ दियालो होटलबाट पक्राउ गरी हिरासतमा राखेको थियो।

प्रसाईंलाई प्रहरीले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिने क्रममा नैतिकता, शिष्टाचारविरूद्ध घृणा र द्वेष फैलाएको, जातजाति सम्प्रदायबीचको सम्बन्धमा खलल पारेको, नेपाल सरकारको कामकारबाहीको सम्बन्धमा झुठो र अप्रमाणित कुरा देखाएर अवहेलना गरेको आरोप लगाइएको छ।