काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ को निर्वाचन खर्च सार्वजनिक गरेको छ।
आयोगले आइतबार विज्ञप्तिमार्फत गत २१ फागुनमा सम्पन्न निर्वाचन सञ्चालनका लागि भएको खर्च तथा वित्तीय व्यवस्थापनसम्बन्धी विवरण सार्वजनिक गरेको हो। आज (मंगलबार) बसेको बैठकको निर्णयानुसार उक्त एकीकृत हिसाब सर्वसाधारणका लागि वेबसाइटमार्फत सार्वजनिक गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न नेपाल सरकारबाट ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २०० रुपैयाँ प्राप्त भएको थियो। त्यसमध्ये चार अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ।
प्रतिमतदाता औसत खर्च २६३ रुपैयाँ
देशभर कुल मतदाता संख्या एक करोड ८९ लाख तीन हजार ६८९ लाई आधार मानेर प्रतिमतदाता औसत २६३ रुपैयाँ खर्च भएको आयोगले उल्लेख गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ को दफा ३६ तथा शासकीय सुधारसम्बन्धी कार्ययोजना, २०८२ बमोजिम बजेट निकासा खर्च, राजस्व र धरौटीसहितको वित्तीय विवरण पारदर्शी रूपमा सार्वजनिक गरिएको आयोगले प्रस्ट्याएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र‚ निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गराउन सहयोग गर्ने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी लगायत खटिने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।
