काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ दर्जन व्यक्तिलाई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका-६ का ३७ वर्षीय नारायण जोशी छन्। जोशीलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको हो। १४ जनालाई कतार पठाइदिने बहानामा जोशीले ४८ लाख रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।

यस्तै, प्रहरीले सुर्खेत बराहाताल गाउँपालिका-२ का ४३ वर्षीय गोपालविक्रम रानालाई टेकुबाट पक्राउ गरेको छ। रानाले इराक पठाउने भन्दै तीन जनाबाट २० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

यस्तै, प्रहरीले भक्तपुर ठिमी नगरपालिका-१ का ३२ वर्षीय नवराज पौडेल र मनाङ नासो गाउँपालिका-६ का ५८ वर्षीय ङ्वाङ लामालाई पक्राउ गरेको छ। पौडेलले अष्ट्रेलिया पठाइदिने बहानामा एक जनाबाट तीन लाख र लामाले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।