भक्तपुर। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखको पेट्रोलियम उत्खननमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेकी छन्।
रफत सञ्चार क्लबले भक्तपुरमा सोमबार गरेको अन्तरसंवादमा उनले पेट्रोलियम उत्खनन परियोजनामा सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाइन्।
देशकै आर्थिक कायापलट गर्न सक्ने महत्त्वाकांक्षी परियोजनालाई सरकारले तीव्र गतिमा अघि बढाउनुपर्ने उनको भनाइ थियो। दैलेखबाटै निर्वाचित थापाले पेट्रोलियम उत्खनन कार्य प्रभावित हुन नदिन सुर्खेत-दैलेख सडकमार्गको स्तरोन्नति हुनुपर्नेमा जोड दिइन्।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको अनुपस्थितिले सरकारको जिम्मेवारीबोध कमजोर देखिएको उनको आरोप थियो। सरकारको नीति तथा कार्यक्रममा रहेका सकारात्मक पक्षलाई समर्थन गर्दै गलत विषयमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको पनि थापाको दाबी थियो।
उनले संविधानविपरीत हुने कुनै पनि गतिविधिविरुद्ध कांग्रेस सशक्त रूपमा उभिने बताइन्। उनले कांग्रेस फुट्ने संघारमा पुगेको हल्लाको खण्डनसमेत गरिन्। उनले पार्टीमा आन्तरिक बहस लोकतन्त्रको सौन्दर्य रहेको तर्क पनि गरिन्।