नागरिक सहायता अनलाइन प्रणालीको शुभारम्भ
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा तीनवटा महत्त्वपूर्ण कार्यक्रम एकैसाथ सम्पन्न भएका छन्।
प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा ‘नेपाल प्रहरी रणनीतिक योजना (२०८३-२०८५)’ सार्वजनिक गरिएको छ। आगामी तीन वर्षका लागि प्रहरीको कार्यदिशा र संगठनात्मक सुधारका लक्ष्य समेटेर यो रणनीति तयार पारिएको हो।
यसैगरी नागरिक सेवा थप सहज, छरितो र पारदर्शी बनाउने उद्देश्यले कार्यक्रममा ‘नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणाली’ को विधिवत् शुभारम्भ गरिएको छ। यो प्रणालीको सुरुवातसँगै अब सर्वसाधारणले आफ्ना गुनासा र सहायताका लागि अनलाइन माध्यमबाटै पहुँच पाउनेछन्। जसले प्रहरी र नागरिकबीचको दूरी कम गर्ने विश्वास लिइएको छ।
सोही अवसरमा प्रहरी वरिष्ठ नायब निरीक्षक श्रीहरि केसीद्वारा लिखित पुस्तक ‘मिसन दुवाकोटदेखि देश दुनियाँ’ को समेत विमोचन गरिएको छ। पुस्तकमा लेखकको प्रहरी सेवाका अनुभव, व्यावसायिक यात्रा र विभिन्न आयाम समेटिएको छ।
कार्यक्रममा प्रहरीका उच्च पदस्थ अधिकारी, सञ्चारकर्मी तथा अन्य विशिष्ट अतिथिको उपस्थिति थियो।