काठमाडौँ। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइको आजै गर्ने भएको छ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइका लागि आज १ः३० बजेको समय कार्यसूचीमा तय गरेको समितिका सचिव तुलबहादुर विश्वकर्माले जानकारी दिए। समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो।
विपक्षी दलका सांसदहरु पद्मा अर्याल, वर्षमान पुन, नरबहादुर विष्टलगायतले प्रक्रियाबाट जानुपर्ने र ६ वर्षे प्रधानन्यायाधीशले गर्ने कामको कार्ययोजना अध्ययन गर्न समय माग गरेका थिए।
बैठकमा समितिका सदस्यहरु कवीन्द्र बुर्लाकोटी, मधु चौलागाईंलगायतले उजुरी अध्ययन गर्नका लागि धेरै समय आवश्यक नपर्ने भएकाले प्रक्रिया छिटो अगाडि बढाउनुपर्ने माग गरेका थिए।
समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सकिने भएकाले अध्ययनका लागि धेरै लामो समय जरुरी नपर्ने हुँदा प्रक्रिया अघि बढाउन सबैलाई सहयोगका लागि आग्रह गरेका थिए।
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा सात वटा उजुरी परेको छ। संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ।