काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

५ जेष्ठ २०८३
सुमननरसिंह राजभण्डारी।
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले रिक्त रहेको सहरी योजना आयोगको उपाध्यक्षमा सुमननरसिंह राजभण्डारीलाई नियुक्त गर्ने भएको छ।

कामपाको कार्यवाहक प्रमुख सुनीता डंगोलको अध्यक्षतामा बसेका ४९औँ कार्यपालिका बैठकले राजभण्डारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

हाल देशका प्रधानमन्त्री बनिसकेका बालेन्द्र शाहले गत ४ माघमा कामपाको प्रमुखबाट राजीनामा दिएसँगै खाली भएको उक्त पदमा राजभण्डारीलाई नियुक्त गरिने भएको हो।

त्यसैगरी बैठकले कक्षा ११ र १२ मा प्रदान गरिने छात्रवृत्तिसम्बन्धी व्यवस्था गरिएको कार्यविधि संशोधनसहित पारित गरेको छ। शिक्षा स्वास्थ्य समितिका तर्फबाट सदस्यसचिव एवं शिक्षा अधिकारी नमराज ढकालले, छात्रवृत्तिसम्बन्धी प्रस्ताव पेस गरेका थिए।

यसैगरी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायममुकायमको जिम्मेवारी दिने भएको छ।

कार्यविधिमा समेटिएका व्यवस्थाका विषयमा दलबहादुर कार्की, विमलकुमार होडा, रामकुमार केसी र आशामान संगतले धारणा राखेका थिए। यही प्रस्तावको छलफलमा रोजिना श्रेष्ठले आइतबार विद्यालय खोल्ने विषयलाई एकरूपता दिनुपर्ने सुझाव दिइन्।

बैठकले कामपाका प्रथम उपप्रमुख कप खोखो प्रतियोगता सञ्चालन गर्ने, वडा १७ मा रहेको कन्या माविमा छात्राका लागि छात्रावास बनाउने, महानगर प्रहरी बलको कर्मचारी व्यवस्थापनका लागि पदपूर्ति समिति गठन गर्ने, जेन-जी आन्दोलनका क्रममा क्षति भएका जनसेवा प्रहरी, महानगर प्रहरी वृत्त गौशाला र कालीमाटी पुनर्निर्माणमा ज्याला पारिश्रमिक उपलब्ध गराउन ७, ८, ९, ११, १२ र १४ वडा समितिको प्रस्ताव अनुमोदन गरेको छ।

बैठकका विविध विषयमा ईश्वरमान डंगोल, बालकृष्ण महर्जन, सरोज ढकाल, विमलकुमार होडा, मचाराजा महर्जन, भुवन लामा र रोजिना श्रेष्ठले धारणा राखेका थिए। बैठकमा सातवटा क्षेत्रमा पेस भएका विविधसहित १९ प्रस्ताव पारित गरेको थियो।