काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

प्रतिनिधिसभा बैठक

सांसदको माग- जातीय विभेद अन्त्य गरियोस्

५ जेष्ठ २०८३
नीता घतानी।
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदै आएको विभेद अन्त्य गर्न सरकारलाई ध्यानाकर्षण गराएकी छन्।

उनले डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेद अन्त्यको माग गरिन्। प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले माइतीघरमा दीपा नेपालीले कोठा खाली छ सरकार? भन्दै सत्याग्रह धर्ना बसेको जानकारी गराइन्। “यो केवल कोठाको विषय मात्रै नभई दलित समुदायमाथि वर्षौंदेखि थोपरिँदै आएको निषेध विभेद र बहिष्कारविरुद्ध उठेको समाजको यर्थाथ प्रश्न हो‚” उनले भनिन्, “यो राज्यमा दलित समुदायका लागि समान र सम्मानको अवस्था किन अझै छैन भन्ने प्रश्न पनि हो।”

सांसद घतानीले संविधानमा समता, सामाजिक न्याय, दलितको हक र छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन फितलो रहेको बताइन्। उनले स्नातककोत्तर पढ्न आएका किरण विकलाई घरबेटीले जात थाहा पाएपछि डेराबाट निकालेको र अन्तिममा घर (सुदूरपश्चिम) फर्किन बाध्य भएको घटना पनि सुनाइन्।

उनले दलित समुदायको डेरा, शिक्षा, रोजगार, सार्वजनिक जीवनमा हुने विभेदको व्यवहारिक रूपमा अन्त्य गर्न सरकारले ध्यान दिनुपर्ने बताइन्। घतानीले दलितको मुद्दा मानवसम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ को विषय भएकाले मानवअधिकारको संरक्षण गर्न सरकारलाई अनुरोध गरिन्।