काठमाडौँ। संयुक्त राष्ट्रसङ्घले सन् २०२६ को अन्त्यसम्म करिब ३० लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ।
फर्किनेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहने प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् २०२३ को सेप्टेम्बरयता करिब ५९ लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन्। यो सङ्ख्या अफगानिस्तानको कुल जनसङ्ख्याको करिब १० देखि १२ प्रतिशत मानिन्छ।
प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो चार महिनामै करिब ६ लाख अफगानी इरान र पाकिस्तानबाट फर्किएका छन्। आगामी आठ महिनामा इरानबाट १७ लाख र पाकिस्तानबाट ११ लाख नागरिक फर्किने अनुमान गरिएको छ।
फर्किने अधिकांश नागरिक दक्ष कामदार रहेका छन्। उनीहरू धेरैजसो छिमेकी देशमै जन्मिएका वा लामो समयदेखि आफ्नो समुदायभन्दा टाढा बस्दै आएका कारण आफ्ना मूल समुदायसँग कमजोर सम्बन्ध रहेको बताइएको छ।
संयुक्त राष्ट्रसङ्घका मानवीय संयोजक ताजुद्दिन ओयेवालेले फर्किनेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका भएकाले उनीहरू सबैभन्दा जोखिममा रहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घ र विभिन्न गैरसरकारी संस्थाहरूले इरान र पाकिस्तानसँगका मुख्य सीमा नाकामा तत्काल राहत तथा उद्धार सहयोगका लागि १० करोड डलरभन्दा बढी सहायता आवश्यक रहेको बताएका छन्।
प्रतिवेदनमा पुनः स्थापनाका लागि करिब ४२ करोड डलर आवश्यक पर्ने उल्लेख गरिएको छ। साथै, मानवीय सहायता रकममा ठुलो गिरावट आएको भन्दै सन् २०२४ मा १ अर्ब ६२ करोड डलर रहेको सहायता सन् २०२५ मा घटेर ९१ करोड डलरमा पुगेको जनाइएको छ।