सुर्खेत। काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर नगरपालिकाले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ।
कालीकोट घर भई हाल वीरेन्द्रनगर ३ सुर्खेत बस्ने ४२ वर्षीया धमिला चौलागाईलाई नगरप्रहरीले काफल पोखाइदिँदै दुर्व्यवहार गरेको थियो। नगरपालिकाले आज (बुधबार) विज्ञप्ति जारी गर्दै मंगलबार साँझ साँझ नगरप्रहरीद्वारा सडकपेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगरपालिका ६ स्थित सिटी बसपार्कमा डालोमा काफल बेच्दै गरेकी चौलागाईमाथि भएको व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
त्यसमा संलग्न नगरप्रहरीलाई विभागीय कारबाही गरिने र पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता टंकप्रकाश लामिछानेले राससलाई जानकारी दिए। उनका अनुसार पीडित महिलालाई नगरप्रमुख मोहनमाया ढकालकै हातबाट क्षतिपूर्ति स्वरूपको रकम प्रदान गरिएको हो।
नगरप्रहरीले मंगलबार साँझ सिटी बसपार्कमा काफल बेच्दै गरेको महिलाको डालो समातेर घोप्ट्याउँदा काफल भुइँमा छरपस्ट भएको र ती महिला रोइकराइ गरेको भिडियो सार्वजनिक भएको थियो। भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरप्रहरी र नगरपालिकाको सेवाबारे सर्वत्र आलोचना भएको थियो। -रासस