विराटनगर। कोसी प्रदेशसभाको नवौँ अधिवेशनको आज बसेको पहिलो बैठकमा ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ सभामा पेस भएको छ।
कोसी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले सो विधेयक पेस गर्दै उक्त विधेयकले प्रदेश खेलकुदलाई सक्षम एवं सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। शुभकामना बैठकमा नेपाली कांग्रेस कोसी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले चालु अधिवेशनको सफलताको शुभकामना दिँदै अधिवेशनले सार्थकता पाओस् भने।
उनले सरकारले ल्याउन लागेको वार्षिक नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्न सकोस् भन्दै गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले मुलुकलाई नयाँ ढङ्गले अधि बढाउन प्रेरित गरेको कुरामा जोड दिए।
नेता थापाले नयाँ सोच र विचारमा प्रभावित नीति तथा कार्यक्रम आउनुपर्ने धारणा राख्दै समृद्धिको बाटो खोल्न पर्यटन प्रवर्द्धनका निम्ति पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए। उनले कोसी प्रदेशसभाको सदस्यहरुको योजनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने भन्दै सरकार सुशासनको मार्गबाट पछि हट्न नहुने स्पष्ट पारे।
नेपाल कम्युनिष्ट पार्टी कोसी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङ्याङबो लिम्बूले अधिवेशनको शुभकामना दिने क्रममा संसदीय प्रणाली एवं व्यवस्था जीवित राख्न सरकार गम्भीर हुनुपर्ने कुरामा जोड दिए।
नेपाली कम्युनिष्ट पार्टी कोसी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सङ्घीयता र संविधानप्रति सङ्घीय सरकार जिम्मेवार बन्नुपर्ने भन्दै सरकारका कारण कार्यपालिका र न्यायापलिकाबीच टकराव हुुनुहुँदैन भने।
उनले जनतालाई भरोसा दिन सक्ने सरकारको नीति तथा कार्यक्रम तथा बजेट आउनुपर्ने बताउँदै कानुन जिम्मेवारी लिन सक्ने र जवाफ दिन सक्ने हुनुपर्ने सुझाव दिए। राष्ट्रिय प्रजातन्त्र पार्टी कोसी प्रदेशसभा संसदीय दलका तर्फबाट कोसी प्रदेशसभा सदस्य प्रेमराज थाम्साङले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम जनताको चाहना र विश्वासलाई पूरा गर्नसक्ने हुनुपर्ने बताए।
उनले अधिवेशनको शुभकामना दिने क्रममै शिक्षा, स्वास्थ्य, महँगी र गरिबी न्यूनीकरणमा सरकारको ध्यान जाओस् भने। कोसी प्रदेश सरकारले बिहीबार अपराह्न ३ः०० बजे आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम पेस हुनेबारे सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए।