काठमाडौँ। आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो। जितका लागि स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
अमेरिकाका लागि ओपनर स्मित पटेल र शाहन जाहाँगिरले समान ३७/३७ रन बनाए। कप्तान साइतेजा मुक्कामल्लाले ३५ रन बनाए। मिलिन्द कुमार २४ रनमा अविजित रहँदा शुभम रन्जानेले ११ रन जोडे।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६९ रनको योगफल बनाएको थियो। स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ६६ रनको योगदान दिए।
उनले ८५ बलमा चार चौका र तीन छक्काको मद्दतमा ६६ रन बनाएका हुन्।
त्यस्तै स्कटल्यान्डका अर्का खेलाडी ब्रान्डन म्याकमुलनले ३२ रन जोड्दा म्याथ्यु क्रसले २० रन बनाए। त्यस्तै जर्ज मुन्सेले १९ रन बनाए।
बलिङतर्फ अमेरिकाका रुशिल उगारकर एक्लैले चार विकेट लिए भने सौरभ नेत्रावलकरले तीन विकेट झारे। शुभम रञ्जनेले दुई विकेट लिँदा हरमित सिहले एक विकेट लिए।
जितसँगै अमेरिका ३८ अङ्कका साथ शीर्ष स्थानमा उक्लेको छ। समान ३८ नै अङ्क रहेको स्कटल्याण्ड रन रेटका आधारमा दोस्रो स्थानमा छ।
यस त्रिकोणात्मक शृङ्खलामा अब नेपालले शुक्रबार अमेरिकासँग खेल्नेछ।