काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ जेष्ठ २०८३
अ+
अ-

सुनसरी। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएका छन्।

सुनसरीको कोसी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल उदघाटन समारोहमा उनले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहनाअनुरूप विकासका कार्यलाई तीव्रता दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्शअनुरूपका कामलाई साकार बनाउन स्थानीय तहले सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताए।

राष्ट्रपति पौडेलले भने‚ “शान्ति, विकास र सुशासनको माध्यमबाटै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ। यसतर्फ तपाईंहरूले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु।” राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै जनअपेक्षाअनुरूप सेवाप्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व भएको बताए। उनले भने‚ “यसै सन्दर्भमा यो ग्रामीण क्षेत्रमा यस्तो आधुनिक तथा बहुउपयोगी सिटी हलको निर्माण हुनु निकै सराहनीय छ। यो परियोजना विकासमा तीनै तहको सरकारबीच हुने सहकार्यको राम्रो उदाहरण पनि हो।”

उनले सप्तकोसी नदीकिनारमा रहेको कोसी गाउँपालिका ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण ठाउँ भएको उल्लेख गरे। उनले अहिले कोसी गाउँपालिकामा पर्ने सप्तकोसी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएकोले यो ठाउँको सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको इतिहासको स्मरण गरे।

उनले भने‚ “सप्तकोसी बाँधको समीपमा सुनसरीको महत्त्वपूर्ण धार्मिक स्थल बराह क्षेत्रधाम, रामधुनि, पिण्डेश्वर, दन्तकाली तथा बुढासुब्बा मन्दिर छन्। तसर्थ यस क्षेत्रको भ्रमणबाट मलाई मनोरम अनुभूति पनि भएको छ। ऐतिहासिक, भौगोलिक तथा धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण यो ठाउँ पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ भएकाले यसलाई त्यही रुपमा विकास गर्न म सम्बद्ध सबै पक्षसँंग आग्रह गर्दछु।”

राष्ट्रपति पौडेलले २०६५ सालमा कोसी बाँध फुट्दा बस्ती नै विस्थापित भएको यस ठाउँमा बस्ती पुन:स्थापित भएको र विकासका गतिविधिहरू तीव्र रूपमा सञ्चालन भएको देख्दा आफूलाई खुसी लागेको भन्दै तीनै तहको सरकारको हातेमालोबाट यस बाढीपीडित जोखिमयुक्त क्षेत्रमा विपद् व्यवस्थापनका पूर्वतयारीको पर्याप्त व्यवस्था गर्न ध्यान पुर्‍याउने अपेक्षा आफूले राखेको बताए।