काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

७ जेष्ठ २०८३
अ+
अ-

भक्तपुर। भक्तपुर अस्पताल न्यूनतम् सेवा मापदण्डमा देशभरिका अस्पताल मध्येबाट उत्कृष्ट घोषित भएको छ।

‘सेकेन्डरी बी’ तहबाट ‘सेकेन्डरी ए’ तहका अस्पतालहरूको न्यूनतम् सेवा मापदण्डमा देशभरिका ‘बी’ तहका १०० देखि ३०० शय्यासम्मका अस्पतालमध्ये भक्तपुर अस्पताल देशभरिकै उत्कृष्ट घोषित भएको अस्पतालका निमित्त निर्देशक सुरेन्द्र भट्टले जानकारी दिए।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा गत ५ र ६ जेठ विज्ञहरूसहित गरिएको न्यूनतम् सेवा मापदण्ड (एमएमएस) मूल्यांकनको नतिजा आज (बिहीबार) सार्वजनिक गरिएको हो। मूल्यांकन समितिले भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा नतिजा सार्वजनिक गर्दै ९३ प्रतिशत अंक प्राप्त गरी भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट अस्पताल घोषणा गरेको हो।

गत वर्ष पनि उक्त अस्पतालले ९० अंक ल्याएर देशभरिकै उत्कृष्ट भएकामा यस वर्ष तीन अंक सुधार गर्दै उत्कृष्टतामा निरन्तरता दिएको हो।

अस्पतालमा बिहीबार आयोजित न्यूनतम सेवा मापदण्ड तथा क्लिनिकल लेखापरीक्षणको समीक्षामा स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक डा. नरेन्द्रकुमार झाले अस्पतालका कर्मचारीहरूको लगनशीलता र मिहिनेतले भक्तपुर अस्पताल उत्कृष्ट भएको बताए।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पताललाई विशिष्टीकृत गर्दै लैजाने बताउँदै अस्पतालमा न्युरो सर्जरीका लागि स्तरोन्नति गर्ने प्रयास भइरहेको बताए। उनले अस्पतालमा अझै सेवा र सुविधा थप गर्ने प्रतिबद्धता जनाए।