काठमाडौँ। पारा पौडी विश्व सिरिजमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली शनिबार जापानको फुजी सिजुओका जाने भएका छन्।
यही १५ देखि १७ जेठसम्म हुने प्रतियोगिताको पुरुष एस ९ क्याटगोरीमा मेम्बरसिंह स्याङ्बा तथा महिला एस ६ क्याटगोरीमा जेनिसा कडायतले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
दुवैले ५० र १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्। टोली प्रमुखमा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ छन्। विश्व सिरिज जापानमा हुने पारा एसियाली खेलकुदको छनोटका रूपमा समेत रहेको संघले जनाएको छ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले आज (बिहीबार) सफलताको शुभकामना दिँदै बिदाइ गरे।