काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका नेता तथा व्यक्तित्वसँग औपचारिक छलफल सुरु गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज (बिहीबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल अघि बढाएको हो।
संविधान संशोधनका मुख्य एजेन्डा र आवश्यक परिमार्जनका विषयमा केन्द्रित रहेर कार्यदलले ‘बहसपत्र’ सम्बन्धी सुझाव संकलनका लागि यो बैठक राखेको हो। छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कानुनी विज्ञ र सरोकारवालाको उपस्थिति छ।
कार्यदलका संयोजक शाहका अनुसार छलफलबाट प्राप्त रचनात्मक सुझाव समेटेर संविधान संशोधनको प्रारम्भिक बहसपत्र तयार पारिनेछ। कार्यदलले आगामी दिनमा अन्य सरोकारवाला निकाय, नागरिक समाज र विज्ञहरूसँग पनि चरणबद्ध रूपमा सुझाव संकलन गर्ने योजना बनाएको छ।
